
पोखरा,
पोखरा महानगरपालिका–२८ स्थित श्री भुर्तेल आधारभूत विद्यालय, स्याङखुदी लाई करिब १ लाख ७० हजार रुपैयाँ बराबरका कम्प्युटर, प्रिन्टर तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका–२८ का वडा अध्यक्ष कृष्ण लामिछाने को उपस्थितिमा विद्यालयलाई आवश्यक शैक्षिक तथा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिकी कार्यवाहक अध्यक्ष सबिता तिवारी को अध्यक्षतामा सम्पन्न भएको थियो ।
विद्यालयले प्राप्त सामग्रीले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । विशेषगरी कम्प्युटर र प्रिन्टरको प्रयोगले विद्यालयको प्रशासनिक कार्यलाई व्यवस्थित बनाउनुका साथै विद्यार्थीलाई सूचना प्रविधिसँग परिचित गराउन र व्यावहारिक सिकाइलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक समय विद्यार्थी संख्या निरन्तर घट्दै जाँदा मर्ज हुने अवस्थासम्म पुगेको भुर्तेल आधारभूत विद्यालय पछिल्ला वर्षहरूमा भने उल्लेखनीय सुधार गर्दै नमुना विद्यालयका रूपमा अघि बढिरहेको विद्यालय पक्षले जनाएको छ। शैक्षिक वातावरणमा सुधार, आवश्यक पूर्वाधार तथा शैक्षिक सामग्रीको व्यवस्थापन र स्थानीय सरकारको निरन्तर सहयोगका कारण विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण समेत बढ्दै गएको बताइएको छ ।
कार्यक्रममा विद्यालयको गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली र समग्र विकासका लागि स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइयो । विद्यालयलाई हस्तान्तरण गरिएका शैक्षिक सामग्रीले प्रविधिमा आधारित शिक्षण–सिकाइलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।



