पोखरामा सशस्त्र प्रहरीको सक्रियतामा वृहत डेंगी नियन्त्रण अभियान सुरु

-


     पोखरा क्लिक     
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा ७, भदौं,

पोखरामा सशस्त्र प्रहरीको सक्रियतामा वृहत डेंगी नियन्त्रण अभियान सुरु भएको छ । पोखरा महानगरपालिकाको वडा नं.८ र ५ मा डेंगीले महामारीको रुप लिने अवस्था आएपछी मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको सक्रियतामा स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, वडा नं. ५ र ८ का वडा अध्यक्षहरु, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ताहरु लगायत स्थानिय समुदायहरुको सहभागीतामा दुवै वडाहरुका संवेदनशिल स्थानहरुमा डेंगी खोज्ने र नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले बताउनु भयो । शुक्रबार बिहान ७ बजे देखी १० बजे सम्म उक्त अभियान चलेको थियो ।

भाद्र ५ गते सम्म कास्कीमा कुल ९७९ जनामा डेंगी संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले बताउनु भयो । हालसम्म कास्कीमा २ जनाको मृत्यू समेत भईसकेको र सवै भन्दा धेरै संक्रमित भएको वडामा क्रमशः पोखरा महानगरपालिका वडा नं. ८ मा १५७ जना, वडा नं. ५ मा ८६ जना, वडा नं. ७ मा ३७ जना र वडा नं. १७ मा ३५ जना भएकाले अवस्था गम्भिर हुने तर्फ उन्मुख भएकाले सशस्त्र प्रहरी बलको कालिका गणलाई अगुवाई गर्न अनुरोध गरिएको समेत उहाँले जनाउनु भयो ।

पोखरा महागरपालिका भित्र कोर एरियाका रुपमा रहेका वडा नं. ८ र ५ मा वर्कशप, ग्यारेज, कवाडी डिपो र जनसंख्या समेत धेरै भएको कारणले अन्य वडाहरुको तुलनामा डेंगी वढी फैलिएको जिकिर दुवै वडाका वडा अध्यक्षहरुको रहेको छ । कास्की जिल्लाको वडाहरु मध्ये सवै भन्दा संक्रमित पोखरा महानगरको वडा नं. ८ र ५ रहेको, कालिका गण समेत सोही ईलाकामा रहेकोले तथा सरोकारवाला पक्षहरुले अगुवाई लिन अनुरोध गरेकाले आफुहरु उक्त अभियानमा लागेको एसपी शर्माले जानकारी दिनु भयो।

डेंगी खोज्ने तथा नष्ट गर्ने विहानको अभियानमा वडा नं. ८ मा ५० जना र वडा नं. ५ मा ७० जना गरि कुल १२० जना सशस्त्र प्रहरी परिचालित भएका र करिब सोही संख्यामा स्थानिय समुदायबाट तथा अन्य सरोकारवाला निकायहरुबाट सहभागीता भएको उहाँले पोखराक्लिकलाई जनाउनु भयो ।