टाइगर कप भलिबल प्रतियोगितामा पुरुष तर्फ घरेलु टिम गण्डकी सेमीफाइनलमा, एपिएफसंग भिड्ने

-


     पोखरा क्लिक     
     माघ ४ गते २०८० मा प्रकाशित


दीननाथ बराल

पोखरा ४, माघ,

पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुष तर्फको खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली शसस्त्र प्रहरी वलको एपिएफसंग सेमिफाइनलमा भिड्ने भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा बिहिबार भएको अन्तिम लिगमा गण्डकीले विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन आर्मी क्लबसंग ३–२ सेटले पराजित भए पनि अंकका आधारमा सेमीफाइनलको यात्रा तय गरेको हो । आर्मीले गण्डकीलाई २५–२०, २०–२५, १७–२५, २५—२१ र पाँचौ सेटमा १५—६ सेटमा पराजित गरेको हो । खराब प्रकाशका कारण स्थगित भएको माघ १ गतेको उद्घाटन खेल विहिबार भएको हो ।

समुह एको उपविजेता गण्डकीले समुह बीको बिजेता एपिएफ क्लवको सामना गर्ने भएको हो भने अर्को सेमीफाइनलमा हेल्प नेपालले पाहुना टोली श्रीलंकाको आर्मी टिमसंग शुक्रबार प्रतिष्प्रर्धा गर्ने भएको हो । हेल्प नेपाल समुह एकको बिजेता हो भने श्रीलंका समुह बीको उपविजेता हो । त्यस्तै महिला तर्फ तेश्रो स्थानका लागि शुक्रबार दुई विभागिय टोली नेपाल आर्मीको त्रिभुबन क्लव र नेपाल पुलिस क्लव बिच खेल हुने भएको संस्थाका सचिव डिबी नेपालीले बताउनु भयो ।

टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताउनु भयो । शनिबार पुरुष तर्फको तेश्रो खेल बिहान र दिउँसो महिला तथा पुरुषको फाइनल खेल हुने भएको उहाँले जनाउनु भयो। महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डका बिच उपाधि रक्षाको लागि फाइनल खेल शनिबार हुने भएको हो । विहिबार सम्पन्न खेलमा पहिलो सेट २५–१९ ले दोस्रो सेट २५–१८ र तेस्रो सेट समान २५–१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको हो । खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित हुनु भयो । अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुबन क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको छ । एपिएफले पहिलो दुई सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला तीन सेट २५–१३, २५–१६ र पाँचौै सेटमा १५– १३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो । खेलमा एपिएफका सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित हुनु भयो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।



This will close in 20 seconds