कपडा व्यवसायी एसोसिएसन कास्कीको २२ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रवन प्रजापतिले व्यवसायीहरू बैङ्क तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर र अत्यधिक कर वृद्धि लगायतका समस्याहरूले पीडित बनेको बताउनुभयो ।
यी समस्याहरू सम्बोधनका लागि व्यवसायीहरूको छाता संस्थाका हैसियतले पोखरा उद्योग वाणिज्य संघले सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर छलफल र संवाद गरिरहेको अध्यक्ष प्रजापतिले बताउनुभयो । विभिन्न कारणले विस्थापित हुने अवस्थामा आइपुगेका व्यवसायीहरूको संरक्षणका लागि सहायता लगायत दबाबमूलक कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । राज्यलाई ठुलो मात्रामा कर तिरेर वैधानिक व्यवसाय गरिरहेका व्यवसायीहरूको पक्षमा राज्य उदासीन देखिएको प्रति सचेत रहन उहाँले आग्रह समेत गर्नुभयो । राज्यले करको दायरा भन्दा पनि दरमा वृद्धि गरेर व्यवसायीहरूलाई मर्कामा पारेको अध्यक्ष प्रजापतिले बताउनुभयो । घरबाहल कर घरबेटीले नै तिर्नुपर्नेमा व्यवसायीहरूबाट असुल उपर गर्ने राज्यको नीति व्यवहारिक नभएको उहाँले तर्क गर्नुभयो । सरकारले व्यवसायीहरूलाई विभिन्न बाहानमा घुँडा टेकाएर कमजोर बनाउन नहुने उहाँले बताउनुभयो ।
कपडा व्यवसायी एसोसिएसनका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले व्यवसायीहरूको समस्या सम्बोधनका लागि पोखरा उद्योग वाणिज्य सङ्घ विशेष पहल गर्नुपर्ने बताउनुभयो । विभिन्न कारणले समस्यामा परेका व्यवसायीहरूलाई संरक्षण गर्ने दायित्व पोखरा उद्योग वाणिज्य सङ्घको भएको उल्लेख गर्दै उहाँले यसलाई गम्भिरतापुर्वक लिन आग्रह पनि गर्नुभयो । व्यवसायीक एकता र भातृत्व अभिवृद्धिका लागि संस्था निरन्तर लाग्नु पर्ने उहाँले बताउनुभयो । पोखरामा फुटफाट र अव्यवस्थित पार्किङ लगायतका समस्याहरूले व्यवसायीहरूले नोक्सान खेपिरहनु परेको उहाँले बताउनुभयो ।
पोखरा चेम्बर अफ कमर्सका कोषाध्यक्ष गोकर्ण अधिकारीले व्यवसायीहरूका समस्याहरूको समाधानका लागि आफूहरू हातेमालो गर्न तयार रहेको बताउनुभयो । चर्को ब्याजदर र करले थलिएका व्यवसायीहरूको संरक्षणका लागि व्यवसायीहरू एकताबद्ध भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । अप्ठ्यारो परिस्थितिमा व्यवसायीहरूलाई व्यवसायीक सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी छाता संस्थाको हुने भन्दै उहाँले असल अभिभावकत्वको आभास दिलाउन सक्नु पर्ने बताउनुभयो ।
अधिकृत विक्रेता सङ्घ कास्कीका अध्यक्ष मनोज श्रेष्ठले व्यवसायीक एकतामा जोड दिनुभयो । सबै व्यवसायीहरूको समस्या साझा भएको उल्लेख गर्दै उहाँले ती समस्याहरूको समाधानका लागि सम्बन्धित निकायहरूमा एकताबद्ध रूपमा दबाब सृजना गर्नुपर्ने बताउनुभयो । संस्थाका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका संयोजक लेखनाथ पौडेलले कपडा व्यवसायी एसोसिएसन व्यवसायीहरूलाई एकताबद्ध गर्दै अघि बढिरहेको सङ्गठित भएको उल्लेख गर्नुभयो । संस्थामा आबद्ध सदस्यहरूको सक्रियतामा विभिन्न सामाजिक कार्यहरू समेत गरिँदै आएको उहाँले बताउनुभयो ।
एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले व्यवसायीहरूको हकहितका लागि संस्थागत रूपमा निरन्तर क्रियाशील रहेको बताउनुभयो । व्यवसायी सदस्यहरूका हरेक समस्याहरूमा संस्थागत रूपमा हातेमालो गरिएको उहाँले बताउनुभयो । संस्थाको तर्फबाट रक्तदान र छात्रवृत्ति वितरण लगायत संस्थागत सामाजिक उत्तरदायित्व बहन लगायत कार्यक्रमहरू गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । आफूहरूको छाता संस्थाका रूपमा रहेको पोखरा उद्योग वाणिज्य सङ्घले व्यावसायिक समस्याहरूको बारेमा प्रभावकारी समन्वय नगरेको उहाँले गुनासो गर्नुभयो ।
सो अवसरमा २०५ वर्ष अघि व्यवसायी मेहरमान पालिखेको पालादेखि निरन्तर सञ्चालनमा रहेको इरसन बस्त्रालयका सञ्चालक ईश्वर कुमार पालिखेलाई सम्मान समेत गरिएको छ । संस्थाका सदस्य बाबुराम पौडेललाई सक्रिय सदस्य सम्मान प्रदान गरिएको छ । उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेका संस्थामा आबद्ध व्यवसायीहरूका छोराछोरीहरूलाई नगद र सम्मान पत्रले सम्मान गरिएको छ ।
एसोसिएसनले विगत एक वर्षमा मिटर जाँच एवं नवीकरण, बैङ्क तथा वित्तीय समस्याहरूको विरोध कार्यक्रम, संस्थाको स्थापना दिवस, शुभकामना आदान प्रदान, स्वास्थ्य शिविर, रक्तदान, भिट्टेपात्रो विमोचन, विभिन्न विषयहरूमा अन्तरक्रिया, छात्रवृत्ति वितरण, वृक्षारोपण लगायतका कार्यक्रमहरू सहित पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएको छ ।
साधारण सभाले संस्थामा सम्पूर्ण सदस्यहरूलाई सदस्यता कार्ड वितरण गर्ने, संस्थाको सचिवालय स्थापनाका लागि कोष खडा गर्ने, नियमित सम्मानका कार्यक्रमहरूलाई निरन्तरता दिने, व्यवसाय प्रवर्द्धनका लागि सिप विकास, अध्ययन अवलोकन भ्रमण, छात्रवृत्ति सङ्ख्या थप गर्ने, दैविक प्रकोप कोष गठन गर्ने, विपत्तिमा परेका व्यवसायीहरूको क्षतिको मूल्याङ्कन गरी अधिकतम रु।२५ हजार सम्म सहयोग गर्ने, विशेष मापदण्ड बनाई सदस्यता वितरणलाई प्रभाकारी बनाउने, सम्भाव्य संयुक्त उद्यम विकास गर्ने, ३र३ महिनामा सदस्यहरूका बिचमा विस्तारित बैठक बस्ने, कपडा व्यवसायी महासङ्घ गठनका लागि पहल गर्ने, भाडा ढुवानीमा एकरूपता कायम गर्न सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय गर्ने लगायतका प्रस्तावहरू पास गरेको छ । यस्तै महासचिव र कोषाध्यक्षको प्रतिवेदन समेत सर्वसम्मतिले पास भएको छ ।