विश्व मत्स्य दिवस ः फेवातालमा १२ हजार माछाका भुरा छाडियो

-


     पोखरा क्लिक     
     मंसिर ६ गते २०८० मा प्रकाशित


पोखरा, ६ मङ्सिर

विश्व मत्स्य दिवसका अवसरमा मंगलबार पोखराको पर्यटकीय गन्तव्य समेत रहेको फेवातालमा माछाका भुरा छाडिएको छ ।
मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाले फेवातालमा स्थानीय जात नैनी, सहर लगायतका ६० ग्राम तौल माथिका १२ हजार माछाका भुरा छाडेको हो ।
फेवातालको प्राकृतिक सन्तुलन कामय गर्न र मुख्यगरी जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउदै उद्धेश्यले तालमा भुरा छाडिएको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले बताउनुभयो । वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै आएको उहाँले बताउनुभयो ।

अधिकारीले गण्डकी प्रदेशमा वार्षिक दुई हजार मेट्रिकटन माछा उत्पादन हुने गरेको जानकारी दिनुभयो । नेपालमा विभिन्न दुई सय ५२ जातका माछाका प्रजाति पाइने गरेकामा दुई सय ३६ जात यहीकै रैथाने रहेको बताइन्छ । नेपालमा मात्र पाइने १६ जात रहेको अधिकारीले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले गण्डकी प्रदेशमा मत्स्य पालनको राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँका प्राकृतिक जलाशय तथा नदीनालाहरुमा माछापालन गरी राम्रो आयआर्जन गर्न सकिने उहाँले बताउनुभयो ।

सचिव हुमागाईले भन्नुभयो,“ हाम्रो प्रदेशमा प्रशस्त प्राकृतिक जलाशय तथा नदीनालाहरु रहेकाले माछापानलको राम्रो सम्भावना छन् । माछा गण्डकी प्रदेश बाहिर पनि निर्यात गर्न सकिने र प्रशस्त आयआर्जनको सम्भावना रहेपनि राम्रोसँग काम गर्न सकेका छैनौँ । अब हाम्रा निकायहरुले प्रदेश र स्थानीय सरकारले मत्स्य विकास रणनीति बनाएर सोही अनुसार कार्यनीतिसहित अघि बढ्नु आवश्यक छ । ” पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डा बालकुमार श्रेष्ठले मत्स्य विकासका लागि माछापालक कृषक तथा जलारी समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो । फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्नसके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सवल हुने श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो,“ फेवातालमा विभिन्न फरकफरक प्रकृतिका माछालाई व्यवसायिकरुपमा पालन गर्नसकेको अवस्थामा पर्यटकका लागि समेत थप आकर्षण बन्न सक्दछ । मत्स्य पालन र यसको बजारीकरणमा हामी सहयोग गर्न तयार छौँ ।” पशु सेवा तालिम केन्द्र कास्कीका प्रमुख डा ग्रिष्म न्यौपानले स्थानीय माछा संरक्षण सम्बन्धी कार्यहरुलाई प्राथमिकता नदिएको खण्डमा प्राकृतिक जलाशयहरुमा पाइने स्थानीय माछा लगायत जलीय जीवहरु लोप हुन सक्ने बताउनुभयो ।
हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष सोमबहादर पोडे विगतमा रैथाने माछा पाइने गरेपनि अहिले फेवातालमा स्थानीय माछा हराइरहेको बताउनुभयो । तालमा माछा उत्पादन घट्दै जाँदा जलारी समुदायलाई परिवार पाल्न समेत मुस्किल पर्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“बाढी, पहिरो लगायतका कारणबाट माछालाई हानी पुगेको छ । तालमा माछा घ्टदै गएको छ । माछापालनका लागि केज अभाव छ । सरकारले जलारी समुदायलाई सहयोग नगर्ने हो भने विस्थापित हुनुपर्ने बाध्यता छ ।”

कार्यक्रममा पोखरा महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठ लगायतले जलिय जीव संरक्षणका लागि तालमा माछाको भुरा छाड्ने, जनचेतना जगाउने, अव्यवस्थित माछा मार्न रोक्ने तथा नियमन गर्ने र आश्रीत समुदायलाई जलिय जीव संरक्षण गर्न प्रमुख जिम्मेवार बनाउनुपर्ने बताउनुभएको थियो ।



This will close in 20 seconds