पोखरा १८, असोज
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको घरपझोङ गाउँपालिकाको भवन उद्घाटन गरेका छन् । ७ करोड ५९ लाखमा निर्माण भएको भवनको बिहिवार उद्घाटन गर्दै उनले भने ‘यो नयाँ भवनबाट जनताले अझै सजिलो र सहज रुपमा सेवा पाउनेछन् भन्ने अपेक्षा लिएको छु ।’
गाउँपालिका भबनसँगै निर्माण भएको आपत्कालिन कार्य संचालन केन्द्र र बिहीवारदेखि मुस्ताङमा सुरु भएको कृषि तथा पर्यटन महोत्सवको पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । मुस्ताङ, मनाङ, उत्तरी गोरखा जस्ता गण्डकी प्रदेश भित्रका हिमाली क्षेत्रको बिकासकालागि गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको उनले बताए । ‘प्रदेशका अन्य जिल्ला जस्तै बिकासको गतिमा हिमाली जिल्लालाई पनि सँगसँगै लैजाने गरि सरकारले बजेट बिनियोजन गरेको, कार्यक्रममा प्राथमिकता दिएका छौँ’ उनले भने ।
मुस्ताङको बिकासकालागि यहाँका धार्मिक पर्यटनलाई प्राथमिकता दिनुपर्ने उनले बताए । मुक्तिनाथ, कागवेनीको प्रर्वद्धन र बिकास जरुरी रहेको उनले बताए । ‘धार्मिक पर्यटन, शाहासिक खेलको बिकासले पनि मुस्ताङमा पर्यटन प्रर्वद्धन हुन सक्छ, यसवर्षको बजेटमा प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएको छ’ उनले भने । गण्डकी प्रदेश सरकारले मुस्ताङ जिल्लाकोलागि यस वर्ष ८० करोड बिकास बजेट बिनियोजन गरेको र आगामी वर्ष यो बजेट एक अर्व पुग्ने उनले बताए ।
मुस्ताङ सम्म पुग्ने सडक स्तरोन्नती गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले अहिलेको भन्दा ४८ किलोमिटर छोटो दुरीको बिरेठाँटी, म्याग्दी, घोरेपानी हुँदै तातोपानी जोड्ने सडककालागि १० करोडमा बहुवर्षिय ठेक्का लगाएर चालु वर्षदेखि नै निर्माण सुरु गर्ने बताए ।
कालिगण्डकी नदीको वाहव बस्तीको सतह भन्दामाथि आउँदा जोखिम बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले सवोच्च अदालतले सालिग्राम जोगाउन कालिगण्डकी उत्खनन् गर्न नहुने अन्तरीम आदेश गरेकाले जोखिम दिनदिनै बढेको बताए । ‘शालिग्रामको आफ्नै महत्व छ, तर मानिसको ज्यान भन्दा शालिग्राम ठुलो हुन सक्दैन’ उनले भने ‘बस्ती जोगाउन तत्काल उत्खनन् गर्नुपर्ने आवश्यकता छ, कानुनी अड्चनका कारण देखिएको समस्या हल गर्ने दिशामा प्रदेश सरकार लागिरहेको छ ।’
मुस्ताङ कृषिको क्षेत्रमा पनि संभावना बोकेको जिल्ला भएको बताउँदै मुख्यमन्त्री पाण्डेले व्यवशायीक स्याउ खेतीको लागि प्रदेश सरकारले अनुदान दिने भएकाले सामुयिक खेतीतर्फ लाग्न स्थानीयलाई अनुरोध गरे । स्थानीय स्तरमा रोजगारी दिलाउन प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिने कृषिका कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।नेपालको फरक फरक धर्म संस्कृती र परम्पारलाई जातीय, धार्मिक, सांस्कृतीक अनेकौँ नाममा सामाजिक सद्भाव खलबल्याउने प्रयत्न अहिले भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यसतर्फ भने सबै सचेत हुनुपर्ने बताए । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे सहित प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिती थियो । कृषि तथा पर्यटन मेलामा मुस्ताङ जिल्लामा उत्पादीत कृषि उत्पादनको प्रर्दशनी र बिक्री स्टल संचालन गरिएको थियो ।